निधारभरि राता अक्षता, कानमा पहेँला जमरा, अरुबेला बारीको डोरोको बोटमा फलेको आरु पनि बेच्ने बुढारे कान्छाबाले, ए साना केरा खा, भन्दै जबरजस्ती गर्ने दिन। वर्षभरि गतिलो शब्द सुन्न नपाइने माइल्याँले मुखले मात्रै भए पनि सुन्दै आनन्द लाग्ने आशीर्वाद दिने दिन।
नजिक भएकाले होला जहिले गए पनि खाली निधार र खाली हात पठाउने मामाघरमा पनि खाममा ५० रुपैँयाको पड्किने नोट पाइने दिन। टाढा भएर होला महिनौँमा आउने ठुलीदिदी टीका लगाउन आउने दिन। दिनभरि गाउँतिर डुलेर टीका लगाउने अनि प्रत्येकको घरमा विभिन्न परिकार खाँदा अरुदिन सारै मिठो हुने खानेकुरा पनि हेर्नै मन नलाग्ने दिन।
आफूले नपाए पनि सानी दिदीले जम्मा गरेको दक्षिणा २ र ५ का नोट गन्दा गन्दै एक दुईओटा नोट लुकाउन पाइने दिन। दाइले लाहुरबाट पठाइदिएका नयाँ लुगा लगाएर हिँड्न पाइने दिन। पिङ खेल्न पाइने दिन। स्कुलको लामो बिदाले दिने छुट्टै आनन्द। यी सबै कुरा दुई अक्षरको ‘दशैँ’ भन्ने शब्दको परिभाषाभित्र अटाउँथे, त्यो बालापनको उमेरको मेरो मनमा।
दशैँको रौनक, दशैँको महत्व अनि दशैँको परिभाषा बढ्दै जाने उमेरका खुट्किलासँगै परिमार्जित हुँदै जाँदा रहेछन्। अब मेरा जीवनमा त्यस्ता दशैँ कहिल्यै आउने छैनन्। तिथि र मिति अनुसार हरेक वर्ष दोहोरिने दशैँ त आउँदै छन् अनि गई नै रहेका छन्। तर, त्यो बडादशैँ। न कसैको चिन्ता, न कुनै गुनासो। वाह ! ती दशैँहरु, अहिले एकाग्र भएर सम्झिँदा त यति आनन्द आउँछ भने वास्तविकतामा कस्तो थियो होला? आफैंले प्रश्न गर्छु अनि आफ्नै मनले दिने जवाफमा रमाउछु।
त्यो बेलाको दशैँ र अहिलेको दशैँबीच तुलना गर्छु। पहिलेको दशैँको भाव मनले अनुभूति गर्दथ्यो तर अहिलेको दशैँको भाव त कानले मात्र अनुभूति गरिरहेको छ। त्यो बालापनको दशैँको परिभाषा र अहिलेको परिभाषा ठ्याक्कै उल्टो। त्यतिबेला आफ्नो अधिकार मात्र प्रयोग गरिन्थ्यो, नपाए मागिन्थ्यो। जे चाहियो आमासँग मागे पुग्थ्यो। आफूले पूरा गर्नुपर्ने कर्तव्य पनि थिएनन्। त्यो उमेर ठ्याक्कै भन्नुपर्दा अहिलेका नेपालका राजनीतिक दलको चरित्र जस्तै थियो। जस्तो कि, मेरी आमा मेरा लागि सरकार थिइन्। जे माग्यो त्यो पूरा गर्नै पर्ने।
तर, अहिलेका दशैँहरु त जिम्मेवारी बोकेर आइदिन्छन्। कर्तव्यको पालना गर्नै पर्छ। पहिलाको दशैँ आफैं आउँथ्यो, सारै रमाइलो गराएर जान्थ्यो। तर, अहिलेको दशैँ त आफूले ल्याउनु पो पर्छ। त्यतिबेला दशैँ आइदियोस् फर्केर नजाओस् हुन्थ्यो तर अहिलेको दशैँ केही वर्ष बिराएर आइदिए हुन्थ्यो जस्तो लाग्छ।
प्रत्येक वर्ष आउने र जाने दशैँहरुलाई स्वागत गर्दागर्दा पनि करिब–करिब जान्ने भएदेखि १७/१८ ओटा दशैँलाई बिदाइ गरियो होला। यसबीचमा पछिल्ला केही दशैँहरु फेसबुकका पर्दामा र म्यासेन्जरका इनबक्समा मात्र सीमित भए। बडादशैँको शुभकामना भनेर कसैले बनाएका रेडिमेड भिडियो तथा फोटोहरु इनबक्समा आइरहेकै छन् र यताबाट पनि ‘सोही चाहेँ’ भन्ने जवाफ गइरहेको छ।
मजस्ता लाखौँ नेपाली युवाका लागि अधिकांश दशैँ आँखा र कानमा मात्र सीमित छन्। निधार अनि मनसम्म त अक्कल–झुक्कल मात्र छुने गर्छन्।
म लाखौँ युवाहरुको एक प्रतिनिधि पात्र हुँ जो आफ्नो देश हेर्नका लागि विश्वको नक्सामा सर्च गर्नुपर्छ। प्रवास। यहाँको दशैँ फेसबुकमा देख्ने आँखा र दशैँका गितहरु सुन्ने कानभन्दा भित्र जानै मान्दैन, निधारमा त झन् कसरी पुगोस्।
प्रवासमा रहने नेपालीका लागि केको दशैँ, बिहानै उठ्यो, मोबाइलको फेसबुक अनि ट्विटर मार्फत ह्याप्पी दशैँ लेख्यो अनि लाग्यो आफ्नै कामतिर।
सोच्छु, हिजो कोही मेरो परिवारको जिम्मेवारी बोकेको सदस्यले दशैँ यस्तैगरी बनाएको थियो होला र त मैले त्यति खुसीका साथ दशैँ मनाउन पाएको थिएँ। नयाँ लुगा लगाएर हिँड्न पाएको थिएँ। त्यो समयको दशैँ मेरो बसमा थियो, त्यो दशैँ मेरा निम्ति आउँथ्यो। तर अहिलेका दशैँहरु त्यो मेरो दशैँलाई स्मरणयोग्य बनाउन सहयोग गर्नेहरुका लागि आएको हो।
उनीहरु हुन् मेरा बाआमा। हो त्यसैले म उनीहरुको खुसीका निम्ति यी दशैँहरुको पर्वाह गरिरहेको छैन।
जति नै ‘ह्याप्पी दशैँ’ भन्दै सामाजिक सञ्जालहरु रंगिए पनि अधिकांश नेपालीको परिवारमा कम्तिमा एउटा सदस्य अपुरो छ। हामी नेपालीको परिवारमा दशैँको खुसी आउनका लागि परिवारको एउटा सदस्य विदेशिनुुपर्ने वाध्यता छ। अहिलेका चार्डपर्व सित्तैमा मनाउन पाइँदैन, खर्च गर्नका लागि अधिकांश नेपालीको परिवारमा विदेशकै पैसा प्रयोग भएको छ।
त्यसैले मजस्ता लाखौँ नेपाली युवा विदेशमा छौँ र त हाम्रा बा खसी काटम् भन्दै गाउँमा हिँडिरहनु भा छ। हाम्री आमाको मन खुसी छ। श्रीमतीले उज्यालो मुख बनाएर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै मिस यु बुढा भन्छन्।
भाइले नयाँ बाइक चढेको छ। आफन्त नजिकिएका छन्। पहिला दक्षिणा नपाइने डरले दशैँमा टीका थाप्न नआउने आफन्तहरु पनि अहिले ओइरो लाग्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।