कञ्चनपुर- कञ्चनपुरका थारु समुदाय बडादशैँको टीका थाप्नका लागि नाचसहित बडघरमा जम्मा भएका छन्।
गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारु समुदायले बडघर भन्ने गरेका छन्।
पालो पर्खंदै पहुरा लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि बडघरमा लामबद्ध भएका छन्। थारु समुदायमा बडादशैँको टीका बडघरमा गएर थाप्ने परम्परा छ।
टीका थाप्न गाउँगाउँबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताए।
गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने चलन रहेको उनले बताए। बडघरपछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिक रुपमै थारु समुदायले टीका थाप्ने गर्छन्।
टीका थाप्नेहरुका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछामासु र तरकारी खुवाउने व्यवस्था मिलाएको जोनापुरका बडघर रामप्रसाद चौधरीले जनाए। स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरु कहाँ नाचसहित पहिलोपटक टीका थाप्न जाँदै गरेको पनि उनले बताए।
टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए। 'आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमंग थपिएको छ' उनले भने।
टीकापछिको दोस्रो दिन घरघरमा गएर अन्तिमपटक सखिया नाच नाचेर दशैँ अन्त्य हुने थारु अगुवाहरुले बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।