काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन माग गरेका छन्।
शुक्रबार उपप्रधान एवं शहरी विकास मन्त्रीको शपथ लिएका महतोले बहु राष्ट्रिय राज्यको बहस निकालेको भन्दै यसले राम्रो संकेत नगरेको र देशलाई फेरि द्वन्द्व तर्फ फर्काउने अभिव्यक्तिमाथि लगाम लगाउन भट्टराईले प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले पहिलो र दोश्रो संविधानसभामा असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस नवनियुक्त उपप्रधानमन्त्रीले पुन: उठाएको भन्दै आपत्ति जनाएका हुन्।
शुक्रबार राति नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'पहिलो र दोश्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्रीले पुन: उठाएछन्। संकेत राम्रो छैन। देशलाई फेरि द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू।'
संविधानको धारा ३ ले राष्ट्रको परिभाषा “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्दै उनले बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता रहेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।