काठमाडौं- जनता समाजवादी पार्टीबाट हालै निष्कासित राजेन्द्र महतो पाँचौँपटक मन्त्री बनेका छन्।
महतोले शुक्रबार मन्त्रीको शपथ खाएका हुन्। उनलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी पहिलो पटक उपप्रधानमन्त्री बनेका हुन्।
२०४६ सालपछि राजनीतिमा जोडिएका महतो २०४८ सालको निर्वाचनपछि भने निरन्तर चुनावी प्रतिस्पर्धामा सामेल भएका छन्। तर २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा मात्रै उनी विजयी भएका हुन्। अघिल्ला निर्वाचनमा सर्लाहीबाट उम्मेदवार हुने गरेका महतो २०७४ सालमा भने धनुषा पुगेका थिए।
महतो १० वर्षपछि मन्त्री बनेका छन्। उनी अन्तिम पटक २०६८ भदौमा गठित डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी थिए। त्यसअघि उनी २०६६ जेठमा गठित माधवकुमार नेपाल नेतृत्वको सरकार, २०६५ साउनमा गठित पुष्पकलम दाहाल प्रचण्ड नेतृत्वको सरकार र २०६४ चैतमा पुनर्गठित गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा सहभागी भएका थिए।
पाँचौँ पटक मन्त्री बनेका महतोले तीन वटा मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्। कोइराला नेतृत्वको सरकारमा उनी वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। त्यसपछि प्रचण्ड र नेपाल नेतृत्वको सरकारमा पनि उनले सोही मन्त्रालयको जिम्मेवारी पाए।
भट्टराई नेतृत्वको सरकारमा भने उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाए। शुक्रबार उनले केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा - वाणिज्य तथा आपूर्ति
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा - वाणिज्य तथा आपूर्ति
माधवकुमार नेपाल नेतृत्वको सरकारमा - वाणिज्य तथा आपूर्ति
डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा - स्वास्थ्य तथा जनसंख्या
केपी शर्मा ओली नेतृत्वको सरकारमा – उपप्रधान तथा शहरी विकास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।