काठमाडौं– यातायात व्यवस्था विभागबाट हटाएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएका सहसचिव रुपनारायण भट्टराईलाई भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयमै फर्काइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा संशोधन गरी यातायात मन्त्रालयमै राखेको छ।
आफु आइतबार श्रम मन्त्रालयमा हाजिर गर्न जान लागेकोमा सामान्य प्रशासन मन्त्रालयले यातायात मन्त्रालयमै हाजिर हुन अर्काे पत्र दिएको सहसचिव भट्टराईले बताए । ‘किन श्रममा सरुवा भयो, फेरि किन मन्त्रालयमै फर्काइयो मैले केही बुझेको छैन,’ भट्टराईले नेपाल लाइभसँग भने।
भट्टराईलाई यातायात मन्त्री रघुबीर महासेठले गत साता विभागबाट हटाएका थिए। यातायात क्षेत्रको सिन्डिकेटविरुद्ध लागेका भट्टराईलाई विभागबाट हटाएकोमा मन्त्रीको आलोचना भएको थियो।
यातायात मन्त्रालयमै फकाईएपनि उनलाई कुनै जिम्मेवारी दिइएको छैन। यातायात व्यवस्था विभागका पनि मन्त्रालयले हालसम्म कसैलाई पठाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।