कैलाली- धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो।
अस्पतालको एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। अस्पतालबाट सुदूरपश्चिमका करिब ५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीसहित तिनका परिवारलाई उपचार सेवा दिने बताइएको छ।
प्रदेशमा कोरोना बढेपछि सुदूरपश्चिम सरकारले सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन आग्रह गरेको थियो। सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ।
अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको हो। अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध हुने समेत जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।