काठमाडाैं- वरिष्ठ अधिवक्ताहरुले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुनुपर्ने माग उठाएका छन्। उनीहरुले संवैधानिक इजलासमाथि उठेको प्रश्नमा जारी बहसका क्रममा यस्तो माग उठाएका हुन्।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले अहिलेको मुद्दाको निवेदक नै नेकपा विवादसम्बन्धी फैसलाबाट प्रभावित व्यक्तिहरु भएकाले उक्त फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा नबस्नु नै उचित हुने बताए। 'अहिले निवेदक को-को छन् त हेराैं। पुष्पकमल दाहाल, माधव नेपाल- उहाँहरु अलग पार्टी कसरी भयो? त्यो फैसलाले भयो,' उनले भने, 'हामीहरु श्रीमान र अदालतको सम्मान गर्छाैं। हामी यही अदालतको गरिमामा गम्भीर छाैं। जे प्रश्न उठेको छ। महान्यायाधीवक्ताले युवा जोशमा अहिले बहस गर्न नपाउने आचारसंहिता लाग्ने भन्नुभयो। हामी पनि महान्यायाधिवक्ता भएका हाैं।'
अर्का वरिष्ठ अधिवक्ता मूक्ति प्रधानले पनि न्यायाधीशद्वय श्रेष्ठ र केसीले आफूलाई अलग गर्ने निर्णय गर्दा राम्रो हुने सुझाव दिए।
त्यस्तै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रिट निवेदक १४६ सांसदमध्ये ७२ जना त्यही फैसलाबाट प्रभावित भएको भन्दै न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासबाट हट्नु नै उपयुक्त हुने बताए। 'अनुशासन समितिको अध्यक्ष महान्यायाधिवक्ता हो। उहाँले बैठक राखेर कार्यान्वयन गर्नुस्। आचारसंहिता हामीले पनि हेरेका छाैं। हामीले जस्तो प्रधानमन्त्री उस्तै महान्यायाधिवक्ता पाएका छाैं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।