ललितपुर- यस वर्षको दयाराम परियार स्मृति पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई दिइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको अठारौं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा अधिकारी र पन्तलाई पुरस्कार अर्पण गरिएको हो। पुरस्कारको राशी एक लाख रुपैयाँ छ।
अधिकारकर्मी परियारको स्मृतिमा आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि पुरस्कारमा रुपान्तरण गरिएको हो।
यो सम्मान यसअघि अधिकारकर्मीहरु दुर्गा घिमिरे, चरीमाया तामाङ, टेकनाथ बराल, चन्द्रकिशोर झा, डा शिवमाया तुम्वाहाङ्फे, बलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीले पाइसकेका छन्।
२०६२ चैत ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनको क्रममै अधिकारकर्मी दयाराम परियारलाई प्रहरीको गोली लागेको थियो। उनको उपचारकै क्रममा चैत १५ गते शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।