चितवन- भरतपुरबाट काठमाडौंका लागि आज अपराह्न उडेको यती एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ।
अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजाल चोकमाथि पुग्दा भँगेरो जातको चरा इञ्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यती एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले जानकारी दिए।
यती एयरलाइन्सको नाइन-एन ए-आइ-एस कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो। प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्नेबित्तिकै इञ्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए। समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ। सबै यात्रु सकुशल छन्।
उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताए।
अर्को जहाजमा इञ्जिनियर पनि आएको र चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।