काठमाडौं– त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन सुरु गरेको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सेवाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।
कीर्तिपुरस्थित विश्वविद्यालयमा सुरु गरिएको सो सेवाले लब्धांकपत्र लिन महिनौं कुर्नुपर्ने कठिनाइ हटाएको उपकुलपति खनियाँले बताए। उनले विश्वविद्यालयलाई प्रविधिमय बनाउँदै लैजाने योजना पनि अघि सारे। यो प्रविधि सुरु भएसँगै २४ घन्टाभित्र विश्वविद्यालयका विद्यार्थीले आफ्नो लब्धांकपत्र लिन पाउनेछन्।
विश्वविद्यालयले परीक्षा सम्बन्धी सबै व्यवस्थापन अनलाइन सेवाबाट विस्तार गर्ने योजना पनि अगाडि सारेको छ। विश्वविद्यालयले संघीय संरचना अनुसार प्रदेश र क्षेत्रीय स्तरमा पनि शाखा कार्यालय खोल्ने योजना बनाएको पनि उपकुलपति खनियाँले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।