काठमाडौं– नेपाल चिकित्सक संघ नारायणी शाखाले स्ट्यान्डअप कमेडियन आदर्श मिश्राले डाक्टर निरज कुमार सिंहलाई बदनाम गर्न खोजेको आरोप लगाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै नारायणी अस्पताल तथा नेपाल चिकित्सक संघ, केन्द्रीय कमिटीका ज्वाइन्ट सेक्रेटरी, शाखाका पूर्व सचिव डा निरज कुमार सिंहलाई बदनाम गर्ने नियत राखि आदर्श मिश्राले अनावश्यक उत्तेजक लाञ्छाना लगाइ कपोकल्पित भ्रमपूर्ण समाचारहरु विभिन्न सामाजिक सञ्जालमा प्रकाशित गरेको भन्दै नारायणी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जेठ १० गते विनोद मिश्राको नारायणी अस्पतालमा डायलासिस भएको र उनका छोरा आदर्शले सामाजिक सञ्जालमार्फत कपोकल्पित, भ्रमपूर्ण समाचार र व्यक्तिगत रुपमा स्वास्थ्यकर्मीको मान मर्दन र चरित्र हत्या गर्ने प्रयास गरेको शाखाले जनाएको छ।
संघले सामाजिक सञ्जाल र आफ्नो व्यक्तिगत ख्यातिको अनुचित प्रयोग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको चरित्र हत्या, मनोबल गिराउने कार्य गर्ने जो सुकैलाई आवश्यक छानबिन गरि कानुन बमोजिम कारबाही गर्न माग गरेको छ।
स्ट्यान्डअप कमेडियन आदर्श मिश्राले अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको बताएका थिए। ४ वर्षदेखि मिर्गौैलासम्बन्धी समस्याबाट पीडित रहेका आदर्शका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो।
बुवाको निधन भएको दोस्रो दिन (बुधबार) एक भिडियो सन्देश जारी गर्दै आदर्शले आफ्ना बुवाको निधन हुनुमा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र नारायणी अस्पताल जिम्मेवार रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।