काठमाडौं– बंगालको खाडीमा उत्पन्न भएको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका देशका विभिन्न स्थानमा बिहानेदेखि वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।
दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने तथा अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
चक्रवातको प्रभावका कारण प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।