सुनसरी– नेपाल तरुण दल सुनसरी जिल्ला सभापति सिजन गुरुङलाई निःसर्त रिहाइ गर्न माग गर्दै नेपाली कांग्रेस सुनसरीले प्रदर्शन गरेको छ।
गत शुक्रबार जग्गा विवादमा पक्राउ परेका गुरुङलाई प्रहरीले ज्यादती गरेको भन्दै कांग्रेस सुनसरीले रिहाइको माग गरेको हो। प्रहरीले भने गुरुङलाई जग्गा विवादको विषयमा नभई कुटपिटको घटनामा पक्राउ गरेको जनाएको छ।
विरोध र्याली इटहरी चोक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै प्रदेश नम्बर १ कांग्रेस संसदीय दलका नेता तथा पार्टी जिल्ला सभापति राजीव कोइराला यो कांग्रेसलाई तर्साउने नियतले गरिएको प्रपञ्च भएको भन्दै यस्ता हर्कतबाट कांग्रेस पछाडि नपर्ने बताए।
यस्तै, प्रदेशका कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रहरीले आफै गुन्डागर्दी शैली अपनाएको आरोप लगाउँदै सरकारलाई समेत चेतावनी दिए।
‘कांग्रेसलाई तर्साउन खोज्दा ज्ञानेन्द्र शाहको के हालत भयो, त्यसको हेक्का होस्’, उनले भने।
२४ घन्टाभित्र निःसर्त रिहाइ नगरिए चरणबद्ध आन्दोलनमा उत्रने कांग्रेस सुनसरीले चेतावनी दिएको छ।
गुरुङलाई आजै म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको र उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।
गस्तीको समयमा इटहरी २० तरहरा पुग्दा एउटी महिलाले कुटाइ खाएको विषयमा उजुरी गरेको र प्रहरी र स्थानीय जनताको जानकारीको आधारमा गुरुङ दोषी देखिएकाले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
‘गुरुङको ज्यादती धेरै नै रहेछ’, उनले भने, ‘त्यसलाई सुधार्ने प्रक्रिया अगाडि बढाएका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।