काठमाडौं– बंगालको खाडीमा रहेको यास नामक चक्रवातको प्रभावका कारण नेपालका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको दाबी छ।
अपराह्नतिर देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
चक्रवातको प्रभावका कारण प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
राति भने देशका अधिकांश स्थानमा आंशिक बदली रहने तथा केही भागमा वर्षाको सम्भावना रहेको जनाइएको छ।
प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।