काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्।
पार्टीका मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै ठाकुरले यादवलाई मंगलबार स्पष्टीकरण सोधेका हुन्।
३ दिनभित्र जवाफ दिन भन्दै ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधका छन्।
संविधानको धारा ७६(५) अनुसार सरकार गठनको पक्रियामा केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय विपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई किन समर्थन गरेको भन्दै ठाकुरले यादवलाई प्रश्न गरेका छन्।
'तपाईंले मिति २०७८/०२/०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६(५) अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेर बहादुर देउबालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८/०२/०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो?' यादवलाई सोधिएको स्पष्टीकरणमा ठाकुरले प्रश्न गरेका छन्।
अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिइ विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु सञ्चालन गरेको समेत आरोप लगाएका छन्।
यस्तै, आफ्नो जानकारी बेगर अनधिकृत रुपमा पार्टीको 'केन्द्रीय कार्यकारिणी' बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुलाई किन कारबाही गरेका भनेर पनि ठाकुरले यादवलाई प्रश्न गरेका छन्।
यस्तै, संसद विघटनविरुद्ध विपक्षी गठवन्धनका सांसदहरुले दायर गरेको रिटमा किन हस्ताक्षर गरेका भनेर समेत ठाकुरले यादवलाई प्रश्न सोधेका छन्। 'तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो?' ठाकुरले यादवलाई सोधिएको स्पष्टीकरणमा प्रश्न गरेका छन्।


यसअघि अध्यक्ष यादवको अध्यक्षतामा शनिबार बसेको कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठकले ठाकुरसहित उनी पक्षका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
५१ सदस्यीय रहेको कार्यकारिणी समितिका ३१ जना सहभागी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
स्पष्टीकरण सोधेको पत्र मंगलबार ईमेलमार्फत पठाउने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।