रसुवा– अवैध बाटो हुँदै चीनको केरुङ पुगेका एक नेपाली र एक तिब्बती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रसुवा चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बती नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्। थुमनको मालागढी हुँदै केरुङ पुगेका उनीहरुलाई चिनियाँ प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए।
जिल्लाको थुमनबाट मालागढी हुँदै जेठ २ गते उनीहरु केरुङ पुगेका थिए। अध्यागमन कार्यालयले जिम्मा नलिएपछि चिनियाँ प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको चिनियाँ प्रहरीले जनाएको छ। तिब्बती नागरिक छिरिङलाई परिवारको जिम्म लगाउन उनको आफन्तको खोजी भइरहेको प्रहरी निरीक्षक सिलवालले बताए।
भारतको हिमाञ्चल प्रदेशको मण्डी धर्मशालामा बस्दै आएका छिरिङ उनकी बिरामी आमा भेट्न ल्हासा जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।