जाजरकोट– जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म प्रशासनिक केन्द्र तोक्न सकेको छैन। निर्वाचन भएको एक वर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यल गायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र राख्न दबाब दिइरहेका छन्। तत्कालीन माओवादी केन्द्रबाट जितेका अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीका भए पनि केन्द्र तोक्ने विषयमा विभाजित भएपछि निर्णय गर्न समस्या भएको छ।
सरकारले जुनीचाँदे गाँउपालिकाको अस्थायी केन्द्र स्यानाखोला नै तोकेको छ। ११ वडा रहेको गाँउपालिकामा ४–४ वडा तत्कालीन नकेपा एमाले र माओवादी केन्द्रले र ३ वडा नेपाली कांग्रेसले जितेको छ। सबै पार्टीका वडाध्यक्षहरु केन्द्र तोक्ने विषयमा एकमत हुन सकेका छैनन्।
निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, ६ महिना बितिसकेपछि दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रावधान छ।
गाँउपालिकाको केन्द्र नतोक्दा अहिलेसम्म वडा कार्यालय समेत स्थापना हुन सकेका छैनन् भने अन्य विषयगत कार्यालय समेत अन्यौलमा छन्। गाँउपालिकाले पूर्वाधार विकासका लागि आवश्यक बजेटसमेत विनियोजन गर्न सकेको छैन। विषयगत कार्यालय र गाउँपालिकाको कार्यालय भाडाको घरमा सदरमुकाममा बस्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।