उदयपुर- सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट–दिक्तेल सडकमा ६ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ।
६ महिनाअघि उदयपुरको फोक्सिङ्टार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ।
बेलिब्रिज खोल्ने जिम्मेवारी लिएका निर्माण व्यवसायी प्रेम कार्कीले भने, 'आजदेखि बेलिब्रिज खोल्न लागिएकाले अब ६ महिना वर्षा अवधिभरिका लागि यातायात सेवा बन्द हुन्छ।'
गाईघाट-दिक्तेल सडक कार्यालय बोक्सेका प्राविधिक राजेन्द्र जोशीका अनुसार सुनकोशी नदीमा पानीको बहावमा दिनानुदिन वृद्धि हुँदै गएको र बेलिब्रिज बगाउने खतरा बढेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।