विराटनगर– प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) केदार रिजालले आफ्नै नैतिक धरातल ठिक नभए प्रहरीले केही गर्न नसक्ने बताउँदै इमानदार र पारदर्शी भएर काम गर्न मातहतका प्रहरी तथा कर्मचारीलाई निर्देशन दिएका छन्।
शुक्रवार १ नम्बर प्रदेश प्रहरी प्रमुखको पदबहाली गर्दै रिजालले भने, ‘प्रहरीकै नैतिक धरातल ठिक नभए केही पनि गर्न सकिँदैन। त्यसैले नैतिकवान, इमानदार र पारदर्शी भएर काम गरौं।’
परिवर्तनको सुरुवात आफैंबाट हुने भएकोले प्रहरी संगठनले लागू गरेका आन्तरिक शुद्धीकरण कार्यक्रमको सफल कार्यान्वयन गरी शान्तिसुरक्षा कायम गर्न, भ्रष्टाचारमा शून्य सहनशीलताको सिद्धान्त पालना गर्न, तस्करी नियन्त्रण गर्न, प्रहरीले दिने सेवालाई अझ छिटोछरितो बनाई चुस्तु दुरुस्त सेवा प्रदान गर्न, मानव अधिकारको संरक्षण एवं संवर्द्धन गर्न र कानुनको अक्षरश: पालना गर्ने कार्यमा कसैसँग पनि सम्झौता नगर्न उनले निर्देशन दिए।
१ नम्बर क्षेत्रीय प्रहरी कार्यालय रानीमा आयोजित कार्यक्रममा मोरङ र सुनसरीका नायव उपरीक्षकदेखि प्रहरी जवानसम्मको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।