काठमाडौं– अरब सागरमा विकसित भएको ‘ताउ ते’ चक्रवातको असर नेपालमासमेत देखिएको छ। अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन सक्रिय भएकाले सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ।
अरब सागरमा देखिएको चक्रवातका कारण नेपालको मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने मौसमविदको भनाइ छ।
शुक्रबारसम्म चक्रवातको असर नेपालको मौसममा देखिने र शनिबारदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले दाबी गरेको छ।
महाशाखाका अनुसार मंगलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ।
बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ।
अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ।
अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ।
गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।