काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुअघि नै आफ्नो नयाँ मन्त्रिमण्डलमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोलाई औपचारिक आग्रह गरेका थिए। तर, ठाकुर र महतोले तत्काल त्यस्तो सम्भावना नरहेको जवाफ दिए।
उनीहरुले यस्तो जवाफ दिए पनि ढिलोचाँडो सरकारमा आउने सम्भावना देखेरै ओलीले आफ्नो नयाँ मन्त्रीमण्डलमा एकजना पनि मन्त्री थपेनन्। यसअघिकै मन्त्रिपरिषद्का सदस्यहरुलाई नै दोहोर्याए। उनीहरुमध्ये केहीलाई चाँडै विदा गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने र जसपालाई सरकारमा भित्र्याउने उनको योजना रहेको बालुवाटारस्रोत बताउँछ।
त्यसो भए के जसपा सरकारमा जाँदैछ?
जसपाका वरिष्ठ नेता सरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरु जान सक्ने बताए। जसपाले उठाएका माग–मुद्धा सरकारले सम्बोधन गरे सरकारमा जान कुनै समस्या नभएको उनको भनाई छ।
‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं, जसपाका माग–मुद्धा सम्बोधन नभए सरकारमा जाँदैनौ’, भण्डारीले नेपाल लाइभसँग भने, ‘यदी सरकारले जसपाका सबै माग सम्बोधन गरेमा पार्टीले निर्णय गरे सरकारमा जान्छौं।’
ओली नेतृत्वको सरकारमा जाने विषयमा दुई धार भएपनि महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा जान लचिलो देखिएका छन्। तर, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष भने सरकारमा जानै नहुने पक्षमा उभिएका छन्।
ओली सरकारमा जाने वा नजाने विषयलाई लिएर जसपामा लामो समयदेखि विवाद हुँदै आएको छ। महन्थ–राजेन्द्र पक्षका नेता भण्डारी भने सरकारमा जाने विषयमा जसपाभित्र विवाद नहुने बताउँछन्। सरकारमा जाने विषयमा पार्टीभित्र छलफल गरेर विवाद समाधान गरिने भण्डारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।