काठमाडाैं- शुक्रबार नेकपा एमालेको दुई पक्षबीच सिंहदरबारमा भएको वार्ताका क्रममा खिचिएको एउटा तस्बिर शनिबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रह्यो। विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले उक्त तस्बिर बढी चर्चामा ल्याए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्ताका क्रममा एमालेको ओलीपक्ष र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरु बैठक हलमा पुगिसकेका हुन्छन्। अन्तिममा प्रधानमन्त्री ओली बैठक हलमा प्रवेश गर्छन्। प्रधानमन्त्री प्रवेश गर्दा नेपालपक्षका नेताहरु घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत शोफाबाट उठेर केही निहुरिँदै प्रधानमन्त्रीलाई नमस्कार गर्छन्।
त्यही नमस्कार गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै विभिन्न टिकाटिप्पणी भएका छन्। कतिपयले गल्तीको पश्चाताप गर्दै प्रधानमन्त्रीसँग माफी मागेको भन्ने प्रतिक्रियासमेत दिएका छन्। यसरी टिप्पणी गर्दै तस्बिर सेयर गर्नेमा प्रधानमन्त्री ओलीका समर्थकहरु बढी देखिन्छ।
सामाजिक सञ्जालमा आलोचित भएपछि एमाले नेता भुसालले प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो प्रचार गरिएको भन्दै असन्तुष्टि पोखेका छन्। उनले ट्विटरमा लेखेका छन्- 'हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ। समाजमा जान्ने बुझ्ने भनिएकाहरु पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोही नहुनु संयोगमात्र हो वा होइन थाहा भएन।'
एमाले दुई कित्तामा विभाजित हुँदा दुवैपक्षका नेताहरुले एक-अर्काप्रति चर्को गालीगलाैज र टिप्पणी गरेका थिए। सोही कारण पनि अहिले नेताहरुको आलोचना भइरहेको छ।
तस्बिर कुन सन्दर्भमा खिचिएको हो भन्ने नबुझी टिप्पणी गर्ने जमात सामाजिक सञ्जालमा ठूलो छ। केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीलाई नमस्कार गरेको तस्बिरमाथिको टिप्पणीलेसमेत सामाजिक सञ्जालका भित्ताहरु भरिएका थिए। ज्ञवालीका समर्थकबाहेक कतिपय स्वतन्त्र व्यक्तिहरुले पनि नमस्कार गर्नु नेपालीको संस्कार भएको भन्दै सकारात्मक टिप्पणी गरेका थिए। अहिले एमाले नेताहरुको तस्बिरमा पनि सकारात्मक-नकारात्मक दु्वैखाले टिप्पणी गरेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।