विराटनगर– मोरङ र सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी एक बालकसहित ३ जनाको मृत्यु भएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकमा बिहिबार साँझ ना७ख ७०१९ नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
ठक्करबाट बुढीगंगा गाउँपालिका–४ की ४५ वर्षिया नोनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ।
यसैगरी, सुनसरीको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ। बर्जु गाउँपालिका ६ स्थित भित्री सडक खण्डमा को१त ४६७ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय युवराज पालका ११ वर्षीय छोरा अवनको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा भर्ना गरिएकोमा सोही क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ। ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, देवानगन्ज गाउँपालिका–३, खत्वे टोलमा को२त ६७५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ३५ वर्षीय विनोद मेहताको मृत्यु भएको छ।
खेत जोतेर घर फर्किंदै गरेको ट्याक्टर देवानगञ्ज गाउँपालिका ३ स्थित नहरमा पल्टिएको थियो। दुर्घटनामा घाइते भएका मेहताको उपचारका लागि विराटनगर लाने क्रममा बाटो मै मृत्यु भएको थियो। दुर्घटनामा उनका भाइ २६ वर्षिय सन्तोष मेहता घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।