काठमाडौं– राष्ट्रपति कार्यालयले बहुमतको प्रधानमन्त्रीका लागि कसैको दाबी पेस हुन नआएको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको सोमबार (वैशाख २७ गते)को बैठकबाट विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार राति ९ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठवन्धनले बहुमत जुटाउनका लागि आवश्यक सदस्य संख्या जुटाउन नसकेपछि प्रधानमन्त्रीमा दाबी पेस नगरेको हो।
बहुमतको आधारमा सरकार गठनका लागि दाबी पेस नभएपछि अब संविधानको धारा ७६ को (३) अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ।
सम्भवतः बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली अल्पमतको प्रधानमन्त्री नियुक्त हुनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।