काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन्।
निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए।
उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ।
तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो। आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ। आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।
यो आइसोलेसन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ। काठमाडौंमा उपलब्ध ठूला भवनहरूलाई आइसोलेसन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरूको उपचार गर्ने सोच बनाइएको सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए।
उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेसन केन्द्रको बारेमा जानकारी गराएका थिए। निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।