काठमाडौं- विश्वका फिल्म हलहरू यतिखेर बन्द छन्। अन्य देशहरूमा फिल्म हल बन्द भए पनि फिल्म उद्योग बन्द भएका छैनन्। ओटीटी (ओभर दि टप) प्ल्याटफर्म र डिजिटल प्ल्याटफर्ममा झनै राम्रा र कलात्मक फिल्महरू प्रदर्शन भइरहेका छन्। छोटो समय, कम कलाकार र कम खर्चमा सुन्दर फिल्म बनाउने प्रयास अन्य देशले थालेका छन्। छिमेकी राष्ट्र भारत पनि महामारीको समयमा गतिलो फिल्म र सिरिज बनाउने देशमा पर्छ।
त्यसो त ओटीटीको भविष्य राम्रो भएको देशमा पनि ठूला ब्यानर तथा धेरै लगानी भएका फिल्म ओटीटीको भरमा छैनन्। उनीहरू मिति सार्दै फिल्म हलमै प्रदर्शन गर्ने ढिपीमा छन्।
नेपालमा पनि २०७६ फागुन दोस्रो सातादेखि बन्द भएका हलहरू संकटको अवस्थामा छन्। गत वर्ष कोरोना भाइरसको पहिलो लहर केही सामान्य भएपछि ५० प्रतिशत अकुपेन्सीसहित केही हल खुलेका थिए। सरकारले खोल्ने निर्देशन नदिँदै सञ्चालकहरूको अग्रसरतामा हल खुले पनि दर्शक त्यहाँसम्म पुगेनन्। पछि सरकारले नै खोल्ने अनुमति दिएको थियो तर गतिलो फिल्मको अभावले हल खाली नै रह्यो।
पहिलो चरणको लकडाउन हुनुभन्दा अघिदेखि नै २०७६ चैत २८ लाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार थालेको ‘चपली हाइट ३’ फिल्मले कोरोनाको असर कम हुँदा फिल्म हलमा लगाउने आँट गरेन। चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका चपली हाइटका निर्माता अर्जुन कुमारले हल खुलेर फेरि बन्द हुँदा मर्कामा परे पनि कोरोना भाइरसका कारण विश्व नै समस्यामा परिरहेको भन्दै चित्त बुझाउनुपरेको बताए।
‘कोभिड मत्थर भएपछि, खोप आएपछि हामी उत्साहित भएका थियौं। तर, दोस्रो लहरले फेरि सबै खत्तम बनायो,’ उनले भने। अर्जुनलाई फिल्म पुरानो हुँदै जाँदा व्यवसायमा असर पर्ने चिन्ता छ। त्यसैले उनी ओटीटीबाटै भए पनि फिल्म प्रदर्शन गर्न चाहन्छन्।
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलअन्तर्गत ‘कोरोनापछि नेपाली फिल्मको व्यावसायिक भविष्य’बारे भएको छलफलमा अर्जुनले भने, ‘नेपालमा अन्य देशमा जस्तो गतिलो डिजिटल प्ल्याटफर्म र सबै दर्शकमा पहुँच छैन, यसले झनै निराशा बढाइदिएको छ।’
नायिका तथा निमात्री रेखा थापाले पनि अर्जुनको कुरामा सहमति जनाइन्। उनले भनिन्, ‘डिजिटल प्ल्याटफर्म अबका दिनमा वैकल्पिक माध्यम हो, तर यो सबैको पहुँचमा छैन।’
अहिले महामारीको समयमा आमदर्शकलाई मनोरञ्जनभन्दा गाँस, बासको चिन्ता भएको भन्दै उनले फिल्मका विषय थाँती राखेर देश चियाउन पनि चलचित्रकर्मीलाई आग्रह गरिन्।
उनले ओटीटी नेपालका लागि अहिले ‘भविष्य नभएको विषय’ भएको जिकिर गरिन्। भनिन्, ‘हलमा फिल्म देखाउन र हेर्न जस्तो मज्जा ओटीटीमा आउँदैन।’
रेखाकै कुरामा सहमति जनाए वितरक तथा निर्माता अशोक शर्माले। उनले भने, ‘सिनेमा कल्चर भनेको थियटर नै हो। जबसम्म हलमा फिल्म लाग्दैन, फिल्मको माहोल नै बन्दैन।’
हलमा पपकन खाँदै, सयौंको भीडमा बसेर फिल्म हेरेको मज्जा ओटीटीले नदिने उनको भनाइ छ। कोभिडकै कारण नेपालका २२ वटा हल सधैंका लागि बन्द भएको दुःखेसो पोख्दै उनले फिल्मका लागि ओटीटीभन्दा हल नै कुर्नुपर्ने दाबी गरे।
हलको विकल्प नभएको कुरामा नेटटीभीका अध्यक्ष मनोज अग्रवालले भने विमति जनाए। उनले भने, ‘प्रविधिले फड्को मारेसँगै नेपाली सिनेमाले पनि त्यहीअनुसार आफूलाई ढाल्न जरुरी छ।’
उनको यो कुरामा चलचित्रकर्मीहरू अर्जुन, रेखा र अशोकले अग्रवाललाई प्रश्न उठाए, ‘ओटीटीले निर्मातालाई के फाइदा हुन्छ?’
नेटटीभीका अध्यक्ष अग्रवालले नेपाली फिल्म प्रदर्शन गर्ने गतिलो माध्यम बन्नसक्ने संकेत गरे। उनले भने, ‘नेटटीभीका पाँच लाख डाउनलोडर छन्, उनीहरूमाझ फिल्म पुर्याउने काम ओटीटीले गर्छ।’ तर, निर्मातालाई हुने फाइदा भने उनले प्रष्स्ट पार्न सकेनन्।
उनले फिल्म हेरेबापत ‘सेयरिङ बेस’मा फाइदा हुने बताए। तर यसमा निर्मातात्रयले विरोध जनाए। ‘भारतको फिल्म लक्ष्मी बमलाई मार्जिन बेसमा किन्ने अनि नेपाली फिल्मलाई सेयरिङ बेसमा कसले दिन्छ?,’ तीनै जनाले आक्रोशित हुँदै भने, ‘लगानी सबै निर्माताको अनि कमाइचाहिँ बाँड्नुपर्ने कहाँको न्याय हो?’
उनीहरूले माध्यमका लागि ओटीटी कुर्नुभन्दा डिजिटल प्ल्याटफर्म युट्युब नै प्रभावकारी रहेको निष्कर्ष निकाले।
तर, अग्रवालले समय प्रविधिमा परिवर्तन भएको भन्दै ‘जुम मिटिङ’को उदाहरण दिए। उनको विरोध भूइँमा खस्न नपाउँदै नायिका तथा निमात्री थापाले भनिन्, ‘अनलाइनमा काम गर्नु, अनलाइनमा बच्चा पढाउनु बाध्यता हो तर मनोरञ्जन बाध्यता हैन।’
कोभिडपछि फिल्म क्षेत्र चलायमान बनाउन ओटीटी प्ल्याटफर्म प्रभावकारी नहुने उनीहरूले तर्क गरे। यसका लागि हल खोल्नुको विकल्प नभएको निष्कर्षसमेत उनीहरूले निकाले।
महामारीको समय भएकाले हल खोल्नु सम्भव छैन। नायिका तथा निमात्री थापाले भनिन्, ‘अहिलेको अवस्थामा फिल्म र हलभन्दा मानवको स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि सम्पूर्ण चलचित्रकर्मी एकजुट भएर जनचेतना फैलाउनुपर्छ।’
उनले महामारीले गर्दा जनताले एक छाक खानासमेत नपाउने अवस्था सिर्जना भएको बेला ओटीटीको बहस गरेर बस्नु उचित नहुने बताइन्। यतिबेला समस्यामा परेकालाई सहयोग गर्ने कार्यमा जुट्नसमेत चलचित्रकर्मीलाई आग्रह गरिन्।
‘जनता बिहान बेलुकी के खाने भन्ने चिन्तामा छन्, हामी फिल्म व्यापारका लागि ओटीटीका विषयमा छलफल गरिरहेका छौं, यो हास्यास्पद कुरा हो,’ थापाले थपिन्, ‘यहाँ मान्छे रोग र भोकले मरिरहेका छन्, चलचित्रकर्मी ओटीटीको गफ हाँकेर बसेका छन् भनेर समाचार आउला नि!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।