काठमाडौं- नेपाली फिल्ममा महिलाको सहभागिता कस्तो छ? सायद, यो प्रश्नमा धेरैको जवाफ आउनसक्छ- सन्तोषजनक।
फिल्मको पर्दामा देखिने महिला कलाकारको संख्यालाई आधार मान्ने हो भने उक्त जवाफ सही नै मान्नुपर्छ। तर, पर्दामा देखिने अनुहारलाई मात्रै आधार मानेर सहभागिताको मूल्यांकन गर्नु व्यावहारिक नहुने महिला चलचित्रकर्मीहरू बताउँछन्। पर्दा पछाडि बसेर काम गर्नेलाई पनि जोडेर सहभागिता हेर्नुपर्ने उनीहरूको भनाइ छ।
‘भर्चुअल’ रूपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)-२०२१ अन्तर्गत शनिबार आयोजित ‘नेपाली फिल्ममा महिला सहभागिताको अवस्था’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले यस्तो बताएका हुन्। अन्तरक्रियामा जोडिएकी निर्देशक समाजकी अध्यक्ष तथा फिल्म सम्पादक रक्षा सिंह राणाले भनिन्, ‘पर्दामा देखिने महिलाको अवस्था राम्रो छ। तर, पर्दा पछाडि काम गर्ने महिलाको संख्या पूरै औंलामा गन्नसमेत कठिन छ।’
राणाको भनाइमा नायिका तथा निमात्री करिष्मा मानन्धरले पनि सहमति जनाइन्। पर्दा पछाडिबाहेक पर्दामा फिल्मको सुरूआती दिनदेखि नै महिला सहभागिताको अवस्था सन्तोषजनक रहेको उनले बताइन्।
‘फिल्ममा समाज हुन्छ र समाजमा महिला हुन्छन्। पहिले समाज बनाउनमात्रै फिल्ममा महिला सहभागिता हुने गरेको थियो,’ मानन्धरले भनिन्, ‘अब आरक्षणको जरूरी छैन, महिला सचेत भएरै फिल्ममा आएका छन्।’
पहिलेको तुलना गर्दा, महिलालाई फिल्ममा काम गरेकै कारण हेला गर्ने, कुरा काट्ने समय पनि अहिले नभएको बताउँछिन् नायिका, निर्देशक तथा निर्माता दीपाश्री निरौला। ‘पहिले फिल्म खेले छोरी बिग्रिइन् भन्थे, अहिले त महिलाका लागि फिल्ममा सुनौलो समय छ,’ उनले भनिन्।
टिकिराख्न चुनौती
फिल्ममा टिकिराख्नका लागि महिला/पुरूष दुवैलाई उस्तै चुनौती रहेको नायिका/निर्माता मानन्धर बताउँछिन्। उनले भनिन्, ‘फिल्ममा टिकिराख्न महिलालाई मात्रै हैन, पुरुषलाई पनि गाह्रो छ।’
फिल्ममा नयाँपन पस्कन नसके महिला/पुरुष दुवैको करिअर धरापमा पर्न समय नलाग्ने उनको भनाइ छ।
यही कुरामा सहमति जनाउँछिन् दीपाश्री पनि। तर, चुनौतीसँग खेल्दा आउने मज्जा अरूमा नआउने पनि उनको अनुभव छ। चुनौतीले नै आफूहरूलाई सक्षम बनाउने बताउँदै उनले नयाँ पुस्ताका महिलालाई फिल्ममा आउन आग्रह गरिन्। ‘चुनौती स्वीकार गरेर आउनुहोला, तर निरन्तरता दिन नभुल्नुहोला,’ दीपाश्रीको सुझाव छ।
यसमा थप जोड दिँदै अध्यक्ष राणाले भन्छिन्, ‘बाहिरबाट हेर्दा ग्ल्यामर देखेर यो क्षेत्रमा आउनेहरूका लागि निक्कै चुनौतीपूर्ण छ। हामीले देखाएको कुरा मात्रै बाहिर देखिने हो। भित्र कति दुःख छ भन्ने कुरा काम गरेपछि थाहा हुन्छ।’
जाडो महिनामा नायक पूरा कोट पाइन्ट लगाएर बसेको हुन्छ, महिला ‘वान पिस’मा काँपेर सुटिङ गर्नुपर्छ। यस्ता चुनौतीलाई सामना गर्न तयार भएर आउनुपर्ने राणाको भनाइ छ।
पारिश्रमिकमा लैंगिक विभेद
नायिका मानन्धरले महिला चलचित्रकर्मी पारिश्रमिकमा ठगिने गरेको तीतो यथार्थ सुनाइन्। ‘माइतीघर, नुमाफुङ लगायतका फिल्मबाहेक अन्य फिल्ममा महिला सहायक पात्रकै भूमिकामा सीमित छन्। र, पारिश्रमिक पनि त्यही अनुसार हुन्छ,’ उनले भनिन्, ‘नारीप्रधान फिल्म भने पनि फिल्ममा पुरुषकै मुख्य भूमिका हुने र पारिश्रमिक पनि पुरुषप्रधान नै हुने गरेको छ।’
पारिश्रमिकको कुरा मात्रै हैन, योगदानको कुरामा पनि खासै महिलाको चर्चा नहुने दीपाश्रीको भनाइ छ। उनी भन्छिन्, ‘योगदानकोे चर्चा पाउन मर्नैपर्छ। मरेपछि मात्रै हाम्रा योगदानको चर्चा र कदर हुन्छ। तर, सबैभन्दा ठूलो कुरा काम गर्ने नै हो।’
पहिलेको तुलनामा महिला कलाकार पारिश्रमिकको बारेमा सचेत भएको पनि उनको भनाइ छ। ‘पहिले केटाले कति लियो भनेर समाचार आउँथ्यो, अहिले महिलाका आउँछन्,’ उनले भनिन्।
उनको अनुभवमा पहिले महिलालाई फिल्म पाउनै मुस्किल थियो। त्यसैले जस्तो फिल्म पनि स्वीकार गर्नुपर्ने बाध्यता हुन्थ्यो। तर, अहिले अवस्था त्यस्तो छैन। मन नपरेको, चित्त नबुझेका कुरामा फिल्म ‘रिजेक्ट’ गर्न सक्छन्।
निर्देशक समाजकी राणाले पनि महिला-पुरुषको योगदान बराबर हुने बताइन्। ‘पुरुषको जति योगदान हुन्छ, महिलाको पनि त्यति नै योगदान हुन्छ एउटा फिल्म बन्नका लागि। तर, हरेक क्षेत्रमा महिलाको नाम दोस्रो स्थानमै नाम आउँछ,’ उनले भनिन्।
पर्दामा देखिनेको पारिश्रमिकमा लैंगिक विभेद भए पनि प्राविधिक क्षेत्रमा समान नै रहेको राणाले बताइन्। उनी भन्छिन्, ‘पहिले हिरोले पारिश्रमिक १० लाख माग्दा, हिरोइनले दुई लाख माग्यो भन्ने समाचार आउँथ्यो। प्राविधिक क्षेत्रको काममा भने पारिश्रमिकमा पक्षपात छैन।’
तर, पारिश्रमिकमा पक्षपात नभए पनि महिलाले प्राविधिक क्षेत्रमा काम पाउन संघर्ष गर्नुपर्ने उनको अनुभव छ। ‘महिला भएर कहाँ एडिटर बन्न सक्छ भनेर पत्याउँदैनथे। मैले काम देखाएर नै आफ्नो स्थान बनाएँ,’ उनले भनिन्, ‘महिला भएकैले काम गर्ने ठाउँमा छड्के आँखाले हेरेको कुरालाई मैले 'डिस्क्रिमिनेसन' हैन, 'इनकरेज'को रूपमा लिएँ।’
महिला निर्मित फिल्मलाई वितरकको हेपाइ
पहिलेदेखि नै फिल्म पुरुषले बनाउने तर नाम भने श्रीमती र आमाको राख्ने चलन थियो। मानन्धरले विगत सम्झँदै भनिन्, ‘कस्तुरी फिल्ममा जानकी मानन्धरलाई निर्माताको रूपमा राखिदिए। मेरी सासुलाई फिल्म के हो, कस्तो हुन्छ थाहै थिएन।’
पछि भुवन केसीले सुस्मिता केसीको नाममा प्रोडक्सन हाउस खोले। आफूले कमाएको पैसा यसैमा लगानी गरेको देखेर आफू निकै प्रेरित भएको उनको भनाइ छ।
ढुकढुकी फिल्म मानन्धरले नै निर्माण गरिन्। उनले भनिन्, ‘मैले त्यसमा करिष्माको ढुकढुकी भनेर राखेँ र निर्मातामा सासु ससुराको नाम राखें।’
महिला निर्माताको सहकार्यले नै फिल्म यहाँसम्म आइपुगेको मानन्धरको भनाइ छ। तर, फिल्म वितरणका समयमा वितरकले महिला निर्मातालाई हेप्ने गरेको तीतो यथार्थ पोखिन् अर्की निर्माता दीपाश्रीले। यही कुरामा अध्यक्ष राणाले पनि सहमति जनाइन्। उनले भनिन्, ‘यही प्रदर्शनको समयमा व्यहोनुपर्ने झमेला सम्झेर म फिल्म बनाउने आँटलाई पछाडि धकेल्छु।’
अन्य उद्योगमा जस्तो व्यावसायिकता फिल्म उद्योगमा नभएको उनको भनाइ छ। ‘सिस्टममा बसेर फिल्म प्रदर्शन गर्न जाने हो भने हिरो को छ, हिरोइन को छ भन्ने कुरा पनि वितरकमै गएर ठोकिन्छ,’ उनले भनिन्।
उनले एक अनुभव पनि साटिन्। उच्च पारिश्रमिक लिने हिरोइनको फिल्म बक्स अफिसमा उति राम्रो कमाइ भएन। फिल्म नराम्रो थिएन। पछि युट्युबमा रिलिज भएपछि सबैले राम्रो भने। उनले नाम भने खुलाउन चाहिनन्। ‘फिल्म बनाउने बेलामा ती हिरोइनलाई लिउँ न भन्दा वितरकले त्यत्रो पैसा तिरेर कसले लिन्छ बरू यतिमा फलानो हिरोलाई लिउँ भने। अहिले डिजिटल प्ल्याटफर्मको कुरा पनि आउने भएकाले उनीहरू फलानो हिरोइन् छ भने फिल्म लिन्नौ वा कम पैसामा लिन्छौं भन्छन्,’ राणाले सुनाइन्।
महामारीमा विकास बोर्डसँग अपेक्षा
कोभिड-१९ का कारण फिल्म क्षेत्र ठप्प छ। चलचित्रकै लागि थुप्रै संघसंस्था छन्, तर विकास बोर्डलाई सरकारले अगुवाइ गर्ने भएकाले यसैको भरमा चलचित्र क्षेत्र रहेको मानन्धरको भनाइ छ। उनले भनिन्, ‘कतिपय यस्ता प्राविधिक छन् जो फिल्मकै कामले मात्रै बाँचेका छन्, परिवार पालेका छन्। अहिले हामी महामारीको दोस्रो वर्षमा छौं। ती प्राविधिकलाई जसरी हुन्छ सरकारको तर्फबाट उद्धार गर्नुपर्छ,’ मानन्धरले भनिन्।
दीपाश्रीले आफू बोर्डमा रहेको कल्याणकारी कोषको सदस्य बनेको भन्दै पीडितलाई हेर्ने बताइन्। ‘स्थिति गाह्रो छ। चलचित्रकर्मी रून मात्रै सकेका छैनन्,’ उनले भनिन्।
चलचित्र क्षेत्र सरकारको सबैभन्दा कम प्राथमिकतामा परेको निर्देशक समाजकी अध्यक्ष राणाले गुनासो गरिन्। महामारीको बीचमा हल खुल्दा दर्शकलेसमेत नपत्याएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।