काठमाडौं– काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयुक्त बैठक बस्दै छ। बैठक अहिले ११बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ।
बैठकले कोरोनाभाइरस संक्रमण रोकथामका लागि उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गरी आगामी कदमबारे निर्णय गर्ने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले गरेको प्रस्ताव अनुसार थप १५ निषेधाज्ञा लगाइने उनले बताए।
एकै पटक १५ दिन थपिने वा अन्य कुनै प्रक्रिया अपनाउने भन्नेबारे बैठकले निर्णय गर्ने उनको भनाइ छ। यसअघि जारी निषेधाज्ञा वैशाख २९गते सकिँदै छ।
डीसीसीएमसीको प्रस्ताव अनुसार अब निषेधाज्ञा जेठ १२ गतेसम्म लागू हुनेछ। डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको थियो।
बैठकले निषेधाज्ञाको अवधिलाई प्रभावकारी बनाउने विषयमा थप निर्णय गर्न सक्ने समेत सीडीओ पराजुलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।