काठमाडौं- ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्यााफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागेको जानकारी दिएको हो। नाराका महासचिव शिव अधिकारीले जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवर्द्धन गर्न उत्सव आयोजना गरिएको जानकारी दिए।
'नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्ने हाम्रो लक्ष्य हो', उनले भने।
पर्यटन पुनर्उत्थानका लागि सहयोग, साहसिक जलयात्रा सुरक्षित भएको सन्देश प्रवाह गर्नु, आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रामा आकर्षण गराई रोजगार सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य राखिएको छ।
यसैगरी साना-ठूला नदीनालालाई पर्यटन र वातावरणका लागि संरक्षित गराउन, पर्यटन विकास, जलयात्रा र वातावरण संरक्षणका लागि खोलानाला जोगाउने सन्देश दिनु उत्सवको मूल उद्देश्य रहेको नाराले जनाएको छ।
नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोर लगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुला गरिएको छ।
नाराका कोषाध्यक्ष शिशिर खनालले उत्सवमा १५ वर्षदेखि ६० वर्षसम्मका ४ सय जना नेपाली जलयात्रीले भाग लिने जानकारी दिए। उत्सवमा भाग लिने स्वदेशी तथा विदेशी जलयात्रीका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।