काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्था स्वयं प्रधानमन्त्रीका कारण आएको बताएका छन्।
प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
'उहाँलाई काम गर्न कसले रोक्यो? अरुमाथि दोष थोपरेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ?,' उनले भने, 'तीन वर्षमा पूर्ण असफल हुनभएको छ। आफैंले आफैंलाई सोध्नुस्, कुशासनको कारण यही सरकार होइन?'
यसअघि बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका थिए।
'प्रतिनिधि सभा पुनः स्थापना भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो, दिनुभएन। भाषणको आत्मरतिमा रमाउनु विडम्बनाबाहेक के हुन्छ?,' देउवाले प्रश्न गरे।
वर्तमान सरकार बनेदेखि संविधान भत्काउने कार्यको सुरु भएको उनको आरोप छ। 'प्रतिनिधि सभा सदस्यको शपथ नभइ प्रधानमन्त्रीको शपथ लिएर संविधान सुरुमै भत्काउनु भएको हो। उपसभामुख चयन नगर्न जिम्मेवार को छ? फरक-फरक दलबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था लागू गर्नुभएन,' उनले भने।
प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत देश चलाउने कार्य गरेको देउवाको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।