काठमाडौं– रोटरी क्लब अफ दाङले ‘रोटरी कोेरोना राहत कोष’ स्थापना गरेको छ। कोरोना भाइरस संक्रमणको सामना गर्न र नागरिकको जीवन रक्षाका लागि सघाउन कोष खडा गरिएको क्लबले जनाएको छ।
सामाजिक सेवामा जुट्दै आएको रोटरीले कोरोना महामारीका बेला आमनागरिकको जीवन रक्षाका लागि पदाधिकारीबाटै रकम संकलन गरी राहत कोष स्थापना गरेको बताएको छ।
क्लबका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकले कोष खडा गर्ने निर्णय गरेको क्लबका महासचिब गजेन्द्र वर्माले जानकारी दिए।
आर्थिक संकलन तथा सहजीकरणको जिम्मा क्लबका सदस्य मीनराज भाटलाई दिइएको छ।
अहिलेसम्म राहत कोषमा एक लाख ८० हजार रुपैयाँ जम्मा भइसकेको संयोजक भाटले बताए। जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा कोरोना रोकथाम तथा नियन्त्रणमा उक्त रकम खर्च गरिनेछ।
आइसोलेशन निर्माण, स्वास्थ्य सुरक्षा सामग्री खरिद, एम्बुलेन्समा पहुँच स्थापित गर्नका लागि उक्त कोषको रकम खर्च गरिने रोटरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।