काठमाडौं– कोरोना भाइरस संक्रमणको दर उच्चरूपमा बढिरहभन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी निषेधाज्र्ञा एक हप्ताका लागि थप गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए।
यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा यसअघि निर्धारण गरिएको समयबाहेक कार्यालय सञ्चालनको हकमा थप कडाइ गरिएको उनले बताए।
सो समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने बताइएको छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्था आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।
भक्तपुर र काभ्रेको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डे हुँदै मङ्गलटारसम्म सडकको दायाँ बायाँ २०० मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँ बायाँ ५०० मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको ५०० मिटर दायाँ बायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्ताबेँसीसम्मको सडक दायाँ बायाँ क्षेत्रको २०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
उता ग्वार्को–नमोबुद्ध सडक खण्डको मानेदोभान–कुशावेदी–सुनथान–शङ्खुपाटीचौर–नमोबुद्ध गुम्बा क्षेत्रको दायाँ बायाँ २०० मिटर, नगरकोट–कुन्ताबेँसी सडक दायाँ बायाँ २०० मिटर, पनौती–बाँसडोल–भैंसेपाटी सडक क्षेत्रको दायाँ बायाँ तथा नाला करुणामाई मन्दिरदेखि भक्तपुर सडकको भञ्ज्याङसम्मको सडक दायाँ बायाँ २०० मिटर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा जारी गरेको छ ।
जिल्लाभित्र प्रयोग हुने निर्माणका सामग्री ढुंगा, गिटी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। अत्यावश्यक सामग्री खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ७ बजेसम्म मात्रै निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।