पोखरा– मानवीय अतिक्रमणले कुरुप गुमाउँदै गएको फिर्केखोला चाँडै पुरानै स्वरुपमा फर्किने भएको छ।
रेखांकन र सीमांकन कार्य सकिएको र अब १ महिनाभित्रै अतिक्रमित संरचना हटाइने पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए।
‘मापदण्डको सबै विवरण आइसक्यो, कुनै ठाउँमा काम पनि सुरु गरिसकेका छौं, बाँकी १ महिनाभित्रै पूरा हुन्छ’, उनले भने।
फिर्केखोलामा महानगरको स्वीकृति र अस्वीकृति लिएर बनेका ९० भन्दा बढी संरचना रहेको महानगरका इञ्जिनियर महेन्द्र गोदारले बताए।
‘महानगरको स्वीकृति लिएका र नलिएका संरचनाको अध्ययन भइसकेको छ’, गोदारले भने, ‘अब चाँडै महानगरमा पेस गरेर कार्यान्वयनमा जान्छौं।’
खोला मिचिएको भन्दै महानगरवासीले दबाव दिएपछि पोखरा महानगरले गत चैत २ गते इञ्जिनियर गोदारको संयोजकत्वमा रेखांकन र सीमांकन समिति गठन गरी महानगरलाई प्रतिवेदन बुझाएको थियो।
खोला किनारदेखि १० मिटरको दूरीलाई मापदण्ड कायम गरेर त्यसभित्रको संरचना हटाइने तयारी गरिएको छ। स्वीकृति लिएर बनेका संरचनालाई धेरै क्षति नपुग्ने गरी मापदण्ड कायम गरिएको गोदारले बताए। मापदण्ड विपरीत बनेका संरचना हटाउने काम अन्तिम चरणमा पुगेको र क्षतिपूर्ति समिति र मूल्यांकन समिति गठन नभइसकेकाले काममा अवरोध आएको उनको भनाइ छ।
फिर्केखोलामा मापदण्ड मिचेर संरचना निर्माण गर्नेमा संघसंस्था, सरकारी कार्यालयका साथै मठमन्दिर समेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।