काठमाडौं- लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन्। संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो।
उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। फागुन २३ गते नेकपा नाम विवादमा रेग्मीसहितको संयुक्त इजलासले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएको थियो।
पूर्वसचिव रेग्मीको नाम कांग्रेस सभापति शेरबहादुर देउवाको कोटामा सिफारिस भएको बताइएको छ। झापा स्थायी घर भएका रेग्मी स्थानीय विकास मन्त्रालयका पूर्वसचिव हुन्। उनले शिक्षा मन्त्रालय र लोक सेवा आयोगमा समेत काम गरेका थिए।
परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।
अध्यक्ष उमेश मैनालीसहित सबै सदस्यहरूले अवकाश पाएपछि लोक सेवा आयोग रिक्त रहेको थियो। आयोग रिक्त रहँदा विज्ञापनलगायत अन्य कार्य रोकिएको थियो।
त्यस्तै, निर्वाचन आयोगको सदस्यमा पूर्वसचिव वीरबहादुर राईको नाम सिफारिस भएको स्रोतले जनाएको छ। राई आयोगकै पूर्वसचिव हुन्।
अन्य निकायमा सिफारिस भएका व्यक्तिहरूको सूची मुख्यसचिव शंकरदास वैरागीसँग रहेको र प्रक्रिया पूरा भएपछि सार्वजनिक हुने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसनाले बताए।
मंसिर ३० गते जारी भएको अध्यादेशका आधारमा तीन जनाको बैठकले दोस्रोपटक संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरेको हो। अघिल्लो नियुक्ति र अध्यादेशविरुद्ध सात थान निवेदन सर्वोच्चमा विचरााधीन रहेका छन्।
सर्वोच्चमा मुद्दा हुँदाहुँदै प्रधानन्यायाधीश राणा आइतबार संवैधानिक परिषद्को बैठकमा भाग लिन पुगेका थिए। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघिल्लो दिन परिषद्को बैठक राखेर विवादस्पद सिफारिस गरेका छन्।
उनको पक्षमा विश्वासको मत नपुग्ने अंकगणित सार्वजनिक भइरहँदा उनले यस्तो सिफारिस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।