काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणाालीको स्थापना र विकासमा प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले यो दिवस कानून र न्याय क्षेत्रको लागि मात्र नभइ सबै क्षेत्र र आमनागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्य लगायतका मूल्य मन्यताहरुलाई संविधानको आधारभूत संरचनाका रुपमा स्थापित गरेको भन्दै उनले समानता र न्यायप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न दिवसले थप उर्जा र हौसला प्रदान गर्ने विश्वास लिएका छन्।
राणाले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि हरसम्भव उपायहरुको अवलम्बन गर्न सरकारलाई आग्रह गरेका छन्। भाइरसको संक्रमणबाट जोगिनका लागि स्वास्थ्यसम्बन्धी मापदण्डको कडाईका साथ पालना गर्न उनले सबैमा आग्रह गरेका छन्।
महामारीका कारण अदालतको सेवा प्रवाहमा संकुचन ल्याइएको भन्दै यसबाट संविधान प्रदत्त हक अधिकारको उपचार प्राप्ति एवं न्यायको पहुचमा कठिनाइ पर्न गएको भन्दै उनले यस अवस्थालाई परिस्थितिजन्य वाध्यताको रुपमा लिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।