दाङ– सुन्दा अचम्म लाग्न सक्छ, कतै जुँगा पालेर पनि पैसा कमाइन्छ र? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आएका छन्।
घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुँगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन्। दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक २ सय ५० रुपैयाँ प्रदान गर्दै आएका छन्।
‘म पेशाले निर्माण व्यवसायी हुँ। कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुँगा देख्दा मलाई रमाइलो लाग्थ्यो’, भण्डारीले भने, ‘नागबेली आकारको उनको कालो जुँगा देखेपछि मैले खुसीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ।’ २०६२ सालदेखि आफूले नियमित रुपमा जुँगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए।
‘सुरुमा उहाँले ५० रुपैयाँबाट सुरु गर्नु भएको हो। अहिले मासिक २ सय ५० रुपैयाँ उपलब्ध गराउँदै आउनुभएको छ।,’ बुढाथोकीले भने। जुँगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुसी लागेको समेत उनले बताए। बुढाथोकीले जुँगा पालेर प्राप्त गरेको पैसा जुँगा संरक्षणमा नै खर्च गर्ने गरेकका छन्।
बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुन्। उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक १ सय रुपैयाँ जुँगाको तलब खाने गरेको अनुभव सुनाए। ‘म नेपाली सेनामा हवल्दार हुँदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक १ सय रुपैयाँ जुँगा पालेबापत पैसा दिँदै आएका थिए।’, उनले भने।
अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुँगाको लागि पैसा दिइरहने आश्वस्त पारेका छन्। भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट ५ हजार रुपैयाँ प्रदान गरेका हुन्। (बालाराम खड्का/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।