दार्चुला– स्थानीय तहबाट जनतालाई प्रदान गरिने सबै किसिमका सेवालाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, दार्चुलाले जनप्रतिनिधिलाई तालीम दिइरहेको छ।
स्थानीय शासन सञ्चालनसम्बन्धी ऐन, नियम र कानूनका बारेमा उनीहरुलाई जानकारी दिई दक्ष बनाउन तालीम दिइएको समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले जानकारी दिए।
समन्वय समितिले यसअघि जिल्लाको शैल्यशिखर नगरपालिकाका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष, वडासदस्य, वडा सचिवलाई उक्त तालीम दिइसकेको जनाएको छ। यस्तै, बुधबारदेखि महाकाली नगरपालिकाका जनप्रतिनिधिलाई समेत तालीम दिइएको जनाइएको छ।
महाकाली नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष, सदस्य, वडा सचिव नगरप्रमुख, नगर उपप्रमुख कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृतलगायत ६२ जनाको सहभागिता रहेको समन्वय प्रमुख कार्कीले जानकारी दिए। स्थानीय शासन सञ्चालनसम्बन्धी नीति तथा कानुन तालीमका माध्यमबाट जानकारी गराइरहेको जनाइएको छ। तालीम तीन दिनसम्म सञ्चालन हुनेछ।
यो तालीम जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलगायत कर्मचारीलाई समेत दिलाइने समन्वय समिति प्रमुख कार्कीले जानकारी दिए। तालीमले जनतालाई प्रदान गरिने सेवामा केही सहजता र छिटोछरितोपन ल्याउन मद्दत गर्ने उनले दावी गरे।
३ दिने तालीमको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन्। तालीमपश्चात् स्थानीय तहले जनतालाई प्रदान गर्ने सबै किसिमका सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, कोष नियन्त्रक, समन्वय अधिकारीले प्रशिक्षण दिइरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।