काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ संक्रमण भयावह बनिरहेको तर सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको जनाएको छ।
आयोगले देशका विभिन्न स्थानमा गरेको अनुगमनपछि सार्वजनिक गरेको रिपोर्टमा देशभरका अस्पतालमा कोभिड संक्रमित भरिभराउ भएको र अक्सिजनको चरम अभाव देखिएको उल्लेख छ। ‘आयोगबाट गरिएको अनुगमनबाट प्राप्त तथ्य र सूचनाहरुको आधारमा अस्पतालहरु कोभिड संक्रमितहरुले भरिभराउ भएको, शय्या नपाएर अस्पताल बाहिरसमेत बिरामीहरु बस्नु परेको, बढी संख्यामा संक्रमित भएका स्थानहरुमा अक्सिजनको अभाव रहेको देखियो ’ आयोगको प्रतिवेदनमा भनिएको छ।
‘निजी अस्पतालहरुले बिरामीे भर्ना लिन अस्वीकार गरिरहेका छन्, भर्ना लिएका अस्पतालहरुले संक्रमितबाट चर्को शुल्क असुल गरिरहेको पाइयो’, आयोगको रिपोर्टमा भनिएको छ, ‘संक्रमितहरुलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण, रेम्डेसिभिर लगायतका औषधिहरुको चर्को मूल्यमा बिक्रीवितरण भैरहेको छ।’
सीमा क्षेत्रबाट अनियन्त्रित तथा अव्यवस्थित रुपमा नेपाल प्रवेश र अन्य व्यवस्थापनको कमजोरीका कारणले संक्रमण स्थानीय स्तरसम्म पुग्ने अवस्था रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ।
विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि संक्रमित हुने तथा मृत्यु हुनेहरुको संख्या वृद्धि हुँदै गइरहेका कारण नागरिकको जीवन नै जोखिममा पर्न गएको अवस्थाप्रति आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखाका कार्यालयहरुबाट अनुगमन गरी नेपाल सरकारलाई ध्यानाकर्षण सहितको पत्राचार गरिएको आयोगले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वैशाख १७ गते जारी विज्ञप्तिमा 'संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने' भन्ने व्यहोराले नागरिकहको स्वास्थ्यप्रति सरकार उदासिन रहेको देखिएको टिप्पणी आयोगले गरेको छ। ‘यसबाट नागरिकमा गम्भीर मनोवैज्ञानिक असर परेको, कोभिड–१९ को खोप खरिद प्रक्रियामा ढिलाई हुँदा पूर्वनिर्धारित खोप कार्यक्रमहरु समेत प्रभावित भएको छ’, आयोगले भनेको छ, ‘जोखिमयुक्त समुदायहरु र नागरिकलाई खोपको सुनिश्चितता हुन नसक्दा झनै भयावह स्थिति हुन सक्ने देखिएको छ।’
कोभिड–१९ का कारणले उत्पन्न सबै असरहरुको सम्बोधन गर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोवल उच्च राख्न, न्यून आर्जन भएका श्रमिक तथा ज्याला-मजदुरी गरी जीवनयापन गर्ने वर्गहरुको लागि जीवीकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न/गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ।
कोभिड–१९ का संक्रमितहरुको उपचारार्थ सरकारका सम्पूर्ण संयन्त्र, प्रदेश तथा स्थानीय सरकारलाई परिचालन गर्नुका साथै राजनीतिक दलहरुलाई समेत कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि अर्थपूर्ण कदम अघि बढाउन समेत आयोगले विशेष ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।