काठमाडौं- ललिता निवासको जग्गा प्रकरणमा मुख्य विचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा दुई थरी राय भएपछि उनी पुर्पक्षका लागि थुनामै रहेने भएका छन्।
न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए भने भट्टराईले थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए। दुई न्यायाधीशको बीचमा फरक-फरक राय आएपछि यो मुद्दा अब तीन जना भन्दा धेरै न्यायाधीशको इजलासले सुनुवाइ गर्नुपर्ने भएको छ।
जग्गा प्रकरणका मुख्य अभियुक्तत ढकाल अदालतबाट म्याद जारी भएको एक वर्षपछि माघ २८ गते विशेष अदालत उपस्थित भएका थिए। विशेषले बयान गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ललिता निवासको ११३ रोपनी जग्गा प्रकरणमा विशेषले तीन जना अभियुक्तलाई मात्र पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जग्गा फिर्ता र अभियोगमा संलग्न गरी १७५ जनालाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले ११० जनालाई आरोपितका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो।
आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद-बिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।