काठमाडौं- राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ। सो पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले शुक्रबार हेटौंडा -५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
तामाङको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सैजू छिन्। उनीहरु दुवै बागमती प्रदेश सभाका सदस्यहरु हुन्।
राष्ट्रिय सभाका उम्मेदवारलाई सम्बन्धित प्रदेश सभाका सदस्य, नगरपालिकाका प्रमुख-उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षले मत दिन पाउँछन्। नेमकिपाका दुई प्रदेश सभा सदस्य र पालिकाका एक प्रमुख र एक उपप्रमुख छन्।
त्यस्तै, उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटा र नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मदवारी दर्ता गराएका छन्। यसअघि बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादलले माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि पद गुमाएका थिए।
सो स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ। विपक्षी गठबन्धन कायम रहेका देवकोटाको जित सुनिश्चित देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।