काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा असुल्ने तीन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएकाे निषेधाज्ञाकाे मौका छाेपेर फाइदा लिन खोज्ने पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई बिहीबार बसपार्कबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा-३३ घर भई काठमाडौं बस्ने वर्ष ३२ को बन्दराज पराजुली, रतुवामाई ९, मोरङ घर भई नेपालटार बस्ने वर्ष २९ को नवीन पौडेल र बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे ७ का वर्ष २९ का रन्जित सिलवाल रहेको महाशाखाले जनाएको छ।
काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
पोखरा जाने यात्रुसँग ग १ ख ९६२१ मार्फत् ३५ सय र बुटवल जाने यात्रुबाट बा ४ ख ५१९७ नम्बरको बसमार्फत् जनही ६ हजारका दरले भाडा लिने क्रममा पक्राउ गरिएको हाे।
ट्राफिक प्रहरी महाशाखाले यस्तो बिषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्नसक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागि सादा पोशाकमा बिशेष टोली परिचालन गरेको छ।
टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढी भाडा लिन खोज्नेलाई निगरानीमा राखेर नियन्त्रण गर्दै आएकाे छ।
यात्रुसँग बढी भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी ३० वर्षीयमिलन सारुलाई महाशाखाले बुधबार पक्राउ गरेको थियो।
पक्राउ परेका तीनै जनालाई आबश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।