काठमाडौं– आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ। योसँगै निषेधाज्ञा जारी भएका जिल्ला ५६ पुगेको छ। अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयको भनाइ छ।
आज (बिहीबार)देखि बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ।
सिन्धुपाल्चोकमा ठूला राजमार्गको दायाँ बायाँ पाँच÷पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ। त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ।
बारा र सिरहामा भने बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहनेछ।
त्यस्तै, बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।
मन्त्रिपरिषद्को बैठकले संक्रमित संख्याका आधारमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन्।
हिमाली र पहाडी जिल्लामा दुई सय जना र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।