काठमाडाैं- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग विश्वासकाे मत मागेका छन्। बुधबार कांगेसका सभापति शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठ पुगेर प्रतिनिधि सभामा २७ गते विश्वासकाे मत दिन आग्रह गरेका हुन्।
भेटमा सहभागी एमाले नेता सुवास नेम्वाङका अनुसार पूर्वप्रधानमन्त्री देउवाले छलफल गरेर निष्कर्षमा पुग्ने बचन दिएका छन्। करीब ४ बजे प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलसहितको टोली देउवा निवासमा पुगेको थियो।
६:१५ बजे निस्कँदा सुरुमा प्रधानमन्त्री ओलीले आधा घण्टा आफ्नो कुरा राखेका थिए।
‘प्रधानमन्त्रीज्यू आधा घण्टा विस्तृत रुपमा अविश्वासको प्रस्तावमा मत माग्न आफ्नो कुरा राख्नुभयो,’ नेम्वाङले भने,‘उहाँले छलफल गरेर निष्कर्षमा पुग्ने बचन दिनुभयाे।’
भेटमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा मिलेर जानुपर्ने बताए।
‘यसबीचमा सत्तापक्षका पनि केही कमजोरी भए होलान्। प्रतिपक्षलाई यसो भएको भए हुन्थ्यो भन्ने लागेका हुन सक्छन्। त्यसलाई समीक्षा गरौंला,’ प्रधानमन्त्रीले भने ‘ आज समीक्षाको बेला होइन। त्यो कुरा समीक्षा गरेर सच्चाउँ, अगाडि बढ्ने काम गर्ने गरौँला। तर, अहिलको अवस्थामा मिलेर जानुपर्ने देखिएको छ।’
निरंकुशताविरुद्धको आन्दोलनमा निरन्तर अगाडि बढेका दुई शक्ति एमाले र कांग्रेस भएको भन्दै उनले संविधान बनाउनेदेखि कार्यन्वयनको चरणमा सहयोगको अपेक्षा रहेको प्रस्ताव गरेका थिए।
‘देश र जनताको हितमा निरन्तर एक ठाउँमा उभिनुपर्छ। अहिलेपनि त्यहीँ हो अवस्था हो,’ प्रधानमन्त्रीले देउवालाई भने, ‘अहिले अप्ठ्यारो अवस्थामा छौं। चुुनौती छ यसलाई पार लगाउन सहयोगको अपेक्षा गरेका छौं।’
नेम्वाङका अनुसार कांग्रेसका सबै नेताहरुले एक/एक गरी आफ्नो कुरा राखेपछि देउवाले आफ्नो कुरा राखेका थिए। यता, कांग्रेस नेता प्रकाशशरण महतले भने आफूहरुले विश्वासको मत नदिने प्रष्ट जवाफ दिएको बताए।
संवैधानिक परिषदको नियुक्ती, संसदको अधिवेशन बोलाएपछि पुन: ल्याएको अध्यादेश ,कोरोना संक्रमणमा सरकारले गरेका कामहरुको बारेमा सरकार गलत कार्य गरिरहेको भन्दै टिप्पणी गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।