काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ।
एमाले नेताहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएका हुन्।
बुधबार देउवानिवास पुगेका प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवासहितका कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएको कांग्रेस नेता प्रकाशशरण महतले बताए।
‘मूलभूत रूपमा उहाँले विश्वासको मत मैले लिइरहेको छु। यसमा कांग्रेसको सहयोगको अपेक्षा छ भन्नुभयो। हामीले कांग्रेस विपक्षी पार्टी हो। अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने कुरा राख्यौं’, महतले भने।
प्रधानमन्त्री ओलीले आउँदो २७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत लिने तय भएको छ।
भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा 'बादल', विष्णु पाैडेल सहभागी थिए।
कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पाैडेल, कृष्ण सिटाैला, विमलेन्द्र निधी, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागी थिए।
सम्बन्धित समाचार :
प्रधानमन्त्री ओली एमालेका नेतासहित देउवा निवासमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।