काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ। वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो।
मंगलबार सम्पन्न काठमाडौं, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने तथा प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा थपिएसँगै कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन्। बैठकले निषेधाज्ञाको यसअघिको व्यवस्थामा समेत केही परिवर्तन गरेको छ।
नयाँ व्यवस्थाअनुसार आजबाट खाद्य वस्तुका पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ। यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था थियो।
यसैगरी यसअघि जारी गरिएका सबै सवारी पाससमेत खारेज गरिएको छ। सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने छ।
त्यसैगरी, बैठकले फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाउने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।