काठमाडौं–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा सामान्य बदली रहेको छ।
अहिले सुदूरपश्चिम प्रदेशसँगै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको दाबी छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेकाले मौसममा बदली तथा दैनिक वर्षा भइरहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।