काठमाडाैं- निर्वाचन आयोगले रिक्त राष्ट्रिय सभाको एक पदका लागि जेठ ६ गते तय भएको उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न पाँच राजनीतिक दललाई ध्यानाकर्षण पत्र पठाएको छ।
आयोगले कोभिड-१९ को संक्रमण बढिरहेकाले उपनिर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्दा कडाइका साथ स्वास्थ्य मापदण्डको प्रयोग गर्न भन्दै पार्टीहरूलाई ध्यानाकर्षण गराएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई पत्र पठाएर आयोगले ध्यानाकर्षण गराएको हो। कोभिड-१९ महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउन पनि आयोगको आग्रह छ।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी स्थानीय तहसम्म उच्च सतर्कता अपनाई यस महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउन दलहरूलाई आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।