काठमाडौं– मास्क नलगाइ जथाभावी हिँडडुल गर्ने १३ हजार बढी मानिसलाई प्रहरीले होल्डिङ सेन्टरमा राखेको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १३ हजार ६२१ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राखेको हो।
होल्डिङ सेन्टरमा राखिएकाहरुलाई सम्झाइ बुझाइ गरी छाडिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
यस्तै, तोकिएको मापदण्ड उल्लंघन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ।
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि संचालित 'तपाईंको मास्क खोइ?' कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको पनि प्रहरीले जानकारी दिएको छ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो।
अभियानको क्रममा पछिल्लो २४ घण्टामा देशभर संचालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना सहभागी भएका प्रहरीले जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।