काठमाडाैं- गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पाैडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन्।
त्यसअघि सोमबार नै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्त (त्रिपाठी)लाई पदमुक्त गरेकी थिइन्। यी दुवैजना तत्कालीन नेकपा हुँदा साविक माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका थिए।
नवनियुक्त प्रदेश प्रमुखमध्ये एकजना पूर्वपञ्च हुन् भने एकजना प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार हुन्।
को हुन् पौडेल?
पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकार हुन्। उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत हुन्। पौडेल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका अध्यक्ष पनि हुन्।
को हुन् यादव?
यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता हुन्। राप्रपाको संस्थापक मध्येका एक उनी पूर्वपञ्चको रूपमा परिचित नेता हुन्। यादव २०७२ असोज २९ गते उपसभामुखमा निर्वाचित भएका थिए। उनी संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै एमालेमा प्रवेश गरेका थिए।
उनी दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी तत्कालीन समयमा कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबाट उपसभामुख बनेका थिए।
यादव २०७४ सालको प्रतिनिधि सभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा ओली, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा एमाले महासचिव ईश्वर पोखरेललगायतका नेताको उपस्थितिमा यादवलाई एमाले प्रवेश गराइएको थियो।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेको समानुपातिक सूचीमा रहेपनि उनी सांसद हुन पाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।