काठमाडौं– राष्ट्रिय जनगणना कार्यक्रम तत्कालका लागि स्थगित हुने भएको छ।
आगामी जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको हाे।
महामारीका कारण जनगणनाको काम केही समय सार्न तथ्यांक विभागले गरेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले सार्ने निर्णय गरेको हाे।
यद्यपि, मन्त्रालयको औपचारिक पत्र भने आउन बाँकी रहेको प्रवक्ता तीर्थ राज चौलागाईंले बताए। मन्त्रालयको पत्र आएपछि विभागको बोर्ड बैठक बसेर यसबारे औपचारिक निर्णय गर्ने उनले जानकारी दिए।
अहिले जनगणनाका लागि सुरु भएको सुपरीवेक्षक तालिमसमेत स्थगित भएको उनले जानकारी दिए। ‘केही जिल्लामा जारी सुपरीवेक्षक तालिम रोकिएको छ,’ उनले भने, ‘जिल्लाहरुबाट आएको विवरणका आधारमा तालिम रोकिएको हो।’
कोरोना महामारीको अवस्था हेरेर नयाँ मिति तय हुने विभागको भनाइ छ।
विभागले १२औं जनगणनाका लागि भन्दै देशभर करारमा ४३ हजार गणक नियुक्त गरिसकेको छ। नेपालमा हरेक १०/१० वर्षमा जनगणना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।